सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
आँधिखोला सेरोफेरो · समाचार · समाज

अर्जुनचौपारीले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरण

अर्जुनचौपारी गाउँपालिकाले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर गरेको छ । वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरेर पालिकाले पोखराको पृथ्वीचोकमा दुई दिन शिविर सञ्चालन गरेको हो ।

शिविरबाट अर्जुनचौपारी–१ का ६, वडा नं.– २ का ३६, वडा नं. –३ का २०, वडा नं. –४ का २३, वडा नं.– ५ का २२ र वडा नं. –६ का ६० जना गरेर १६९ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । सेवा लिएकामध्ये एक जनाको नयाँ दर्ता समेत गरिएको हो । सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सरकारले सहज रूपमा सेवा दिनुपर्ने भएकाले पोखरामै पुगेर नवीकरणको व्यवस्था दिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

वडा अध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारी पोखरामा पुगेर घुम्ती शिविरमार्फत नवीकरण सहितका सेवा दिएको बताउँदै तिवारीले शिविरले शारीरिक रूपमा अशक्त र वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउदै अर्जुनचौपारी–१ का नरबहादुर क्षेत्रीले सरकारले सधै यस्तै ढङ्गले सेवा दिनुपर्ने बताए । जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ ।

लेखक / संवाददाता

विनोद घताने

विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।

सबै समाचार →