

‘नागरिकता व्यवस्थापन सूचना प्रणाली’ (सीएमआईएस) बाट नागरिकताको विवरण हटाएको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीमाथि अनुसन्धान अघि बढेको छ। कम्प्युटर अपरेटर विष्णु चापागाईं, प्रशासकीय अधिकृत सूर्य शर्मा र लेखा प्रमुख रमेश वि.क. अनुसन्धानको दायरामा परेका हुन्।
साविक आरुखर्क–८ घर भई हाल पोखरा महानगरपालिका–७ बस्दै आएका प्रयासी गुरुङका छोराछोरीको नाबालक परिचयपत्र बनाउने क्रममा उनका बाबुको नाममा दोहोरो नागरिकता रहेको कैफियत देखिएपछि घटना बाहिर आएको हो। छोराछोरीको नाबालक परिचयपत्र बनाउन गुरुङले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका थिए।

नाबालक परिचयपत्र बनाउने क्रममा बाबुको नागरिकता विवरणमा कैफियत देखिएपछि स्याङ्जा प्रशासनको सीएमआईएसमा रहेको गुरुङको नागरिकताको विवरण हटाइएको पाइएको थियो। त्यसपछि घटनाबारे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको संयोजकत्वमा छानबिन गरेको थियो।

छानबिन समितिको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको जनाएको छ। अहिले तीनै कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए।
उनका अनुसार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुने र अदालतको निर्णयअनुसार कानुनी कारबाही अघि बढ्नेछ। “मैले प्रशासन क्षेत्र सुधार गर्न चाहेको छु र त्यसको सुरुवात जिल्ला प्रशासन कार्यालयबाट गर्न पाएको छु,” घिमिरेले भने। उनले जिल्लाका अन्य क्षेत्रमा पनि सुधारका लागि प्रयास गर्ने बताए।
घिमिरेका अनुसार घटनासम्बन्धी सूचना गोप्य रूपमा प्राप्त भएको थियो। उनले कर्मचारीमाथि आफूले प्रत्यक्ष कारबाही गर्ने नभई अनुसन्धान र कानुनी प्रक्रियाअनुसार अदालतबाट हुने निर्णय कार्यान्वयन हुने स्पष्ट पारे।
नागरिकताको विवरणजस्तो संवेदनशील सरकारी अभिलेख प्रणालीबाट हटाइएको विषयमा छानबिन र प्रहरी अनुसन्धान अघि बढेको छ। घटनामा कर्मचारीको संलग्नता पुष्टि भएमा प्रचलित कानुनअनुसार कारबाही हुने र पुष्टि नभएमा सम्बन्धित कर्मचारीले कानुनी प्रक्रियामार्फत सफाइ पाउने अवस्था रहनेछ। त्यसैले अन्तिम निष्कर्ष अदालतको निर्णयपछि मात्रै स्पष्ट हुनेछ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
