गठबन्धनलाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न ओलीको चेतावनी

राजनीति समाचार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार भर्चुअल्ली शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनलाई बत्ति निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिए । आफ्नो पार्टीले निर्वाचनबाट कसैलाई पनि भाग्न नदिने अध्यक्ष ओलीको भनाई थियो । उनले देश, जनता, पार्टी र आन्दोलनविरुद्ध षडयन्त्र गरेर पार्टी विभाजन गर्नेहरुको भ्रममा नपरी पार्टीमा फर्किन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गरे ।

अध्यक्ष ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दावी समेत गरे । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नगरी एक्लै चुनाव लडने बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाए । उनले सभामुख अग्नीप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेश गरिएको एमसीसी सम्झौंता अघि बढन नदिएको भन्दै आपत्ति समेत जनाए । सभामुख सापकोटाका यस्ता खालका पदीय मर्यादा विपरितका गतिविधिलाई सत्तारुढ गठबन्धनका केही नेताहरुले प्रशंशा गरेकोमा आफूलाई सरम लागेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता गतिविधि हुन नदिन सरकारलाई सचेत गराए ।

अध्यक्ष ओलीले चुच्चे नक्शा प्रयोग गर्ने काम सरकार र सत्तारुढ दलहरुले नगरेर देश र मुलुकको भौगोलिक अखण्डतामाथि खेलबाड गरिरहेको आरोप पनि लगाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *