

पुतलीबजार नगरपालिकाले स्वच्छ, स्वस्थ र व्यवस्थित नगर निर्माण गर्ने उद्देश्यसहित सरसफाइ सप्ताहसम्बन्धी कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारको सरसफाइसम्बन्धी मार्गदर्शन, २०८३ को अवधारणाअनुरूप नगरपालिकाले बिहीबारदेखि सरसफाइ अभियान सुरु गरेको हो।
नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप चन्द्र सुवेदीसहित नगरपालिकाका सम्पूर्ण कर्मचारीको सहभागितामा नगरपालिकाको परिसरबाट अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत कार्यालय तथा सार्वजनिक स्थलको सरसफाइ, फोहोरमैला व्यवस्थापन, स्वच्छ कार्यवातावरण निर्माण र सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकासमा जोड दिइएको नगरपालिकाले जनाएको छ।

सरसफाइलाई अभियानमा मात्र सीमित नराखी दैनिक व्यवहार र कार्यसंस्कृतिका रूपमा विकास गर्नुपर्नेमा नगरपालिकाले जोड दिएको छ। सरसफाइले नागरिकको स्वास्थ्य, वातावरण संरक्षण र सार्वजनिक सेवा प्रवाहलाई समेत प्रभाव पार्ने भएकाले यसलाई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने नगरपालिकाको भनाइ छ।

“शिक्षा, स्वास्थ्य र पूर्वाधार ः समुन्नत पुतलीबजारको आधार” भन्ने नारालाई आत्मसात् गर्दै नगरपालिकाले स्वच्छता, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। स्वच्छ र व्यवस्थित नगर निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
