

बुबाले सुरु गरेको कफी खेतीलाई नयाँ पुस्ताले व्यावसायिक रूपमा अघि बढाउँदै प्रिमियम कफी उत्पादन सुरु गरेको छ। भुमिजंग केसीको बगैँचामा उत्पादन भएको कफीलाई एउटै फार्मको उत्पादनका रूपमा प्रशोधन गरी ‘भूमि रोस्टरी’ मार्फत सीमित परिमाणमा बजारमा ल्याइएको हो।
बेलायतबाट नेपाल फर्किएका केसीका छोरा कृष्णजंग केसीले बुबाको कृषि पेशालाई निरन्तरता दिँदै कफी खेती, प्रशोधन र पर्यटनसँग जोडेर व्यवसाय अघि बढाइरहेका छन्। उनले करिब १५ वर्षदेखि कफी क्षेत्रमा काम गर्दै आएको बताए।

उनका अनुसार नयाँ उत्पादन भुमिजंग केसीको बगैँचामा मात्र उत्पादन भएको कफीबाट तयार गरिएको हो। त्यसमा अन्य क्षेत्र वा जमिनको कफी मिसाइएको छैन। यही कारण उत्पादनलाई ‘सिंगल फार्म ओरिजिन’का रूपमा बजारमा ल्याइएको हो।

‘मेरो बुबाको सम्मानमा यो कफी बनाइरहेको छु। उहाँले गरेको कृषि पेशालाई अंगालेर नयाँ पुस्ताले पनि यस क्षेत्रमा भविष्य देख्न सक्छ भन्ने सन्देश दिन खोजेको हुँ,’ उनले भने।
‘भूमि रोस्टरी’को यो कफी सीमित परिमाणमा मात्र उपलब्ध हुनेछ। हाल महिनामा करिब १० देखि २० किलो उत्पादन बजारमा ल्याउने तयारी गरिएको छ। अर्को वर्ष भने करिब ५ क्विन्टल उत्पादन गर्ने लक्ष्य राखिएको छ।
कफी खेतीमा एउटै क्षेत्रको उत्पादनलाई अलग राखेर प्रशोधन गर्दा स्वाद र गुणस्तर पहिचान गर्न सकिने उनको भनाइ छ। विभिन्न उचाइ, माटो, मल र खेती प्रणालीले कफीको स्वादमा फरक पार्ने भएकाले प्रिमियम कफीमा उत्पादनको स्रोत महत्वपूर्ण हुने उनले बताए।
उनका अनुसार अहिले करिब ४५ रोपनी क्षेत्रफलमा कफी खेती गरिएको छ। उक्त क्षेत्रबाट वार्षिक १५ देखि १८ क्विन्टलसम्म कफी उत्पादन हुने गरेको छ। राम्रो व्यवस्थापन र मेहनत गरे २० क्विन्टलसम्म उत्पादन पुग्न सक्ने उनको अनुमान छ।
तर सबै उत्पादन प्रिमियम सिंगल फार्म कफीमा प्रयोग गरिने छैन। त्यसका लागि करिब १० क्विन्टलसम्मको उत्पादन छुट्याउने योजना छ।
कफीको बिक्री प्रत्यक्ष रूपमा आफ्नै व्यवसायबाट गर्ने गरिएको छ। अनलाइन माध्यमबाट ग्राहकलाई बिक्री गर्नुका साथै काठमाडौं पठाएर त्यहाँबाट वितरण गर्ने व्यवस्था पनि मिलाइएको छ। कफी काठमाडौंका विभिन्न ग्राहक तथा संस्थासम्म पुग्ने गरेको उनले बताए।
उनका अनुसार नेपाली कफी बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, न्यूजिल्याण्ड र अस्ट्रेलियासम्म पनि पुगिरहेको छ। कफी व्यवसायसँगै उनको परिवारले क्याफे सञ्चालन पनि गर्दै आएको छ। क्याफेमा आउने विदेशी पर्यटकमार्फत नेपालको कफी, कृषि र पर्यटनबारे जानकारी फैलाउन सहयोग पुगेको उनको भनाइ छ।
कफी खेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीसमेत सिर्जना गरेको छ। घरमै चार जना स्थायी कर्मचारी कार्यरत छन्। कफी टिप्ने, गोड्ने, बोक्ने, प्रशोधन र अन्य मौसमी काममा भने तीन महिनाको अवधिमा २० देखि २५ जनासम्मले काम पाउने गरेका छन्।
कफी उत्पादन गर्ने किसानसँगै त्यसलाई खरिद गरेर बिक्री गर्ने क्याफे तथा व्यवसाय पनि यसबाट जोडिएका छन्। नेपालका विभिन्न स्थानका करिब ४० देखि ५० वटा क्याफेलाई कफी उपलब्ध गराउने गरिएको र विदेशका केही क्याफेमा पनि पठाउने गरिएको उनले बताए।
उनले कफीलाई नेपालका लागि उच्च सम्भावना भएको कृषि उत्पादनका रूपमा व्याख्या गरे। ‘गल्फ देशले तेल खनेर बेचे जस्तै हाम्रो लागि कफी महत्वपूर्ण उत्पादन बन्न सक्छ,’ उनले भने।
उनका अनुसार नेपालको भौगोलिक उचाइ र हावापानी कफी उत्पादनका लागि महत्वपूर्ण छ। विशेषगरी चिसो वातावरण र निश्चित उचाइमा उत्पादित कफीको गुणस्तर तथा स्वादका कारण नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न सक्ने उनको भनाइ छ।
उनले कृषि पेशाप्रति युवाको धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिए। विदेशबाट फर्किएका युवाले कृषि तथा बाउबाजेले गर्दै आएको पेशालाई आधुनिक ढंगले अघि बढाउन सके रोजगारी र उद्यमको नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ।
भुमिजंग केसीले लामो समयदेखि कफी खेती गर्दै आएका थिए। परिवारका अनुसार कफीको सुरुवात भने केसीका पिता नरबहादुर केसीको पुस्तासँग जोडिन्छ। नरबहादुर केसीले रिडी क्षेत्रबाट कफी ल्याएर रोपेको बताइएको छ।
कफी खेतीको सुरुवात २०१६ देखि २०१८ सालतिर भएको बताइएको छ। भुमिजंग केसीले भने २०३३ सालदेखि कफीलाई चिनेर व्यावसायिक रूपमा अघि बढाएको परिवारको भनाइ छ। पछिल्लो पुस्ताले २०५८ सालदेखि कफी क्षेत्रमा काम थालेको जनाएको छ।
भुमिजंगले कृषि क्षेत्रमा गरेको योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत पाएका छन्। थाइल्यान्डको राजदरबारबाट उत्कृष्ट कृषकका रूपमा सम्मान पाएको र संयुक्त राष्ट्रसंघबाट एसियाको उत्कृष्ट कृषकका रूपमा सम्मान प्राप्त गरेको परिवारले जनाएको छ।
संयुक्त राष्ट्रसंघबाट सन् १९९६ मा १० हजार अमेरिकी डलर, प्रमाणपत्र र पदक प्राप्त गरेको बताइएको छ। खाद्य तथा कृषि संगठनसँग सम्बन्धित पदकसमेत प्राप्त भएको परिवारको भनाइ छ।
नेपाल सरकारले तत्कालीन समयमा कृषि क्षेत्रमा गरेको योगदानका लागि भुमिजंग केसीलाई गोर्खा दक्षिण बाहुबाट सम्मान गरेको बताइएको छ। त्यसमा कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेको उल्लेख रहेको उनीहरूले जनाएका छन्।
केसी अहिले ९४ वर्षका भएको परिवारले जनाएको छ। उनको कृषि र कफी खेतीको विरासतलाई नयाँ पुस्ताले व्यवसायसँग जोड्दै अघि बढाएको हो।
नयाँ कफी उत्पादनलाई ठूलो परिमाणमा बजारमा लैजानेभन्दा पनि गुणस्तर र सीमित उत्पादनमा केन्द्रित गर्ने योजना रहेको छ। उत्पादकका अनुसार अहिले उपलब्ध कफी पारखी ग्राहकलाई लक्षित गरिएको छ।
कफी उत्पादनसँगै पर्यटन प्रवर्द्धनलाई पनि जोडिएको छ। क्याफे तथा फार्ममा विदेशी पर्यटक आउने गरेका छन्। हाल फार्म भ्रमणका लागि २५६ वटा समूहको बुकिङ रहेको र त्यसमा केही थपघट हुन सक्ने बताइएको छ।
कृषि, कफी र पर्यटनलाई एउटै व्यवसायिक अवधारणामा जोडेर स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने प्रयास भइरहेको छ। उत्पादकले यसको मुख्य उद्देश्य आफ्नो उत्पादनको प्रचार मात्र नभई युवालाई कृषि र उद्यमतर्फ आकर्षित गर्नु रहेको बताएका छन्।
‘बेलायतबाट फर्केर आएर पनि कफीको काम गरेको रहेछ भन्ने सन्देश युवासम्म पुग्नुपर्छ। कृषि पेशालाई हेर्ने दृष्टिकोण बदलियोस् र युवाहरू कफी खेती तथा उद्यममा लागून् भन्ने मेरो उद्देश्य हो,’ उनले भने। कृष्णजंग केसीले १५ बर्ष देखी उत्पादन गरीरहेको “रोडसाईड कफी” र ७ बर्ष अगाडी गुरू कर्ण शाक्य को सम्मानमा उत्पादन गरेको “कर्ण कफी” यस अगाडी नै नीकै लोकप्रीय भैसकेका छन ।

