

स्पष्ट, प्रस्ट वक्ता, निडर, अविचलित, साहसी, आधुनिक सोच राख्ने, प्रेरणा दिने र प्रेरित गर्ने मेरा बा
कुशे औँसी, अर्थात् बुवाको मुख हेर्ने दिनको शुभकामना मेरा बा लाई जो दिवंगत हुनुभएको पनि आज ६, ७ वर्ष भइसक्यो।

हरेक दिन बिहान बा कुडो पानी गरेपछि र दूध चिया खाएपछि लामा दाइ र पुलकी स्यान दिदीकोमा चिया खान जानुहुन्थ्यो। पुलाकोमुख चिया जमघटको केन्द्र हुन्थ्योस राजनीति, समाज, पानी, खेती, वन, घाँस, गाउँका कुरा‘ सबै कुराको छलफलको केन्द्र।

म कहिलेकाहीँ बा को पछि लागेर जान्थेँ। लामा दाइकोमा बा सँगै चिया खानु र आक्कलझुक्कल बिस्कुट खान पाउनु मेरा लागि त्यो दिन ठूलो उपलब्धि हासिल गरेजस्तो लाग्थ्यो।
बा निक्कै राजनीतिक, सामाजिक र आर्थिक समाचार सुन्नुहुन्थ्यो। बा सँगसँगै हामी घटना र विचार, बीबीसी नेपाली अनि समाचार सुन्थ्यौँ। उहाँका लागि समाचार केवल समाचार थिएनन्, ती सोच्ने, बुझ्ने र बहस गर्ने विषय थिए।
बा अलि कडा स्वभावको हुनुहुन्थ्यो। त्यसैले हामी के न के काम गरिरहेकै हुन्थ्यौँ घरमास घाँस काट्ने, गोबर फाल्ने, खनखन गर्ने, पानी हाल्ने आदि इत्यादि।
तर आज फर्केर हेर्दा लाग्छ, बा को त्यो कडाइभित्र पनि जीवन सिकाउने एउटा कठोर विद्यालय थियो।
बा सँगै मैले धेरै सुन्तलाका बेर्ना, नियाली र तामेबास, पाखामा रूखका बिरुवा, केरा रोपेको छु। माटोमा बा सँगै हात गाडेका ती दिनहरू आज सम्झनामा उम्रिरहेका छन्।
बा सँग कतै हिँड्दा मलाई सुरक्षित अनुभूति हुन्थ्यो।
११, १२ कक्षा पढ्दा बा र म अबेर रातिसम्म समसामयिक, व्यावहारिक र पारिवारिक गफ गर्थ्यौँ। ती रातहरू अहिले सम्झिँदा लाग्छ,त्यो गफ मात्र थिएन, मेरो जीवनको पाठशाला थियो।
बा ले भन्नुहुन्थ्यो
अलि अन्यारी नअर्नु।
काम गरेर मान्छे मर्दैन।
भाषा निक्कै महत्वपूर्ण हुन्छ।
गल्ती नगर्नु।
बिनाकारण कहिल्यै नझुक्नु।
प्रस्ट रूपमा आफ्ना कुरा राख्नु।
गीत गाउनु।
कविता भन्नु।
छाड्केर नाच्नु।
भाषण गर्नु।
पैसा कमाउनु।
बा ले भनेका धेरै कुरा मैले लागू गर्न सकेँ जस्तो लाग्छ बाहेक एका दुइ।
सायद बा ले मलाई जीवन कसरी बाँच्ने भनेर कुनै किताब खोलेर सिकाउनुभएन। तर उहाँका हरेक वाक्य, हरेक व्यवहार र हरेक काम आफैँमा एउटा किताब थिए।
मुखिया भएर खायो भन्नेहरूलाई आज पनि सोध्न मन लाग्छ,मेरा बा ले कसको के खाइदिनुभएको थियोरुयदि कसैको केही खाइदिनुभएको थियो भने, भन्नुहोस्।
म चुक्ता गर्छु।
किनकि मैले मेरा बा लाई देखेको छु, आफ्नो बा को औँश पनि नपाएर ११ वर्षमै हेलामा परेकी आमा र दुई वर्षको भाइलाई लिएर आफ्नो संघर्ष आफैँ सुरु गर्नुभएको हो बगाहखेतमा
कति अफ्ठ्यारा, चुनौती र संघर्षमा बाँच्नुभयो होला बा शायद हामिले कहिल्य सोधेनौ बा का अनुभूति घण्टौँ लगाएर सुन्न मैले कहिल्यै सकेको रहेनछु।
आज लाग्छ बा सँग मेरा लागि अझ कति धेरै कथा थिए होलान्, कति पीडा थिए होलान्, कति संघर्ष थिए होलान्। तर मैले ती सबै सुन्ने समय र धैर्य कहिल्यै जुटाउन सकिनँ। त्यतिबेला सामान्य लागेका बा का कुरा आज आएर जीवनका दस्तावेजजस्ता लाग्छन्।
आफ्नो जीवनको इतिहास सुनाउन सक्ने मान्छे नै गएपछि थाहा हुँदो रहेछ कति कुरा नसुनेरै हामीले आफ्नै मान्छेलाई बिदा गरेका रहेछौँ।
अलि पछि, आमा बितेपछि म नेपाल जाँदा ढोकैनेर आमाको बिलौनामा रुँदा बा ले भन्नुभएको थियो“आमा बिते पनि म छु, नरो अब”।त्यो वाक्य आज पनि कानमा गुन्जिन्छ।तर समय कति निर्दयी हुँदो रहेछ
अझै सम्झन्छु, अलि पछि बा ले मलाई भन्नुभएको थियो“यत्रा सन्तान नेपालमै अटे त अट्न सकिनस्, फर्की भो नेपाल।”
त्यो बेला त्यो एउटा सामान्य वाक्यजस्तो लाग्यो होला। आज त्यो वाक्यभित्र कति ठूलो तानाइ, कति ठूलो आग्रह र कति गहिरो घरको माया रहेछ भन्ने बुझ्दैछु।आमा बितेको २६ महिनामै बा पनि जानुभयो।मेरो जीवनको एक आदर्श मेरा बा लाई रामदी (पाल्पा र स्यांगजाको सिमाना) लगेर आफैले आगो झोसेर सतगत गरियो ।
त्यसपछि छानो ,धुरी खस्यो। मैनी खावो मक्कायो ।घर, घर रहेन।
आमा बा बिना म टुटेँ, फुटेँ, छरिएँ, चिरिय।
मन बुझाउन पनि वर्षौँ लाग्यो।
आज ६ वर्ष भइसक्यो बा गएको।
तर केही मान्छेहरू समयसँगै टाढा हुँदैनन्, झन् गहिरिँदै जान्छन्। बा पनि त्यस्तै हुनुभयो।आज पनि झलझली बा का यस्तै वाक्यहरू सम्झन्छु। उहाँको कडा आवाज सम्झन्छु। चियाको गिलास सम्झन्छु। लामा दाइकोमा बसेको त्यो जमघट सम्झन्छु। उहाँसँग हिँड्दा महसुस हुने त्यो सुरक्षा सम्झन्छु। खेतबारीमा सँगै रोपेका ती बिरुवा सम्झन्छु। अबेर रातिसम्म चलेका ती गफ सम्झन्छु।दियो बाल्छु ,हरेक दिन आमा, बा सम्झन्छु।
बा का दारौँखोला आसपास शत्रु–मित्र बराबर थिए। कतिपय राजनीतिक कारणले, कतिपय पारिवारिक कारणले—मुखियाका कारणले—कतिपय वैचारिक कारणले।
गाउँमा अत्यन्तै अमर्यादित, अनैतिक, असामाजिक घटनाहरू बा ले मिलाएका, समाधान गरेका धेरै कुरा मलाई थाहा छ। उहाँ केवल घरका बा हुनुहुन्नथ्यो, गाउँका पनि बा हुनुहुन्थ्यो।
सबथोक भएर पनि केही छैन जस्तो लाग्छ, यो परदेशमा।घर छ, परिवार छ, संसार छ, जीवन चलिरहेको छ। तर जसको कारण घर घरजस्तो लाग्थ्यो, जसको उपस्थितिले आफू सुरक्षित छु भन्ने लाग्थ्यो, उहाँहरू नै नहुँदा अली खल्लो लाग्छ । आफ़नाहरू को व्यवहार, सोच देखदा उराठ लाग्छ। फेरी उज्ज्वल सूर्य हेर्छु, निर्दोष सन्तानको सुकोमल अनुहार हेर्छु । खुशी लाग्छ बा आमाले आशीर्वाद दियर होला चैनले निदाऊँन, शान्तिले बाच्न सकेको छु
म कदापि कसैको खोसेर खानेछैन, क्षुद्र वचन लाउनेछैन। कर्मलाई प्रधान ठान्नेछु। झुकेर मिल्छ भने झुक्नेछु, तर स्वाभिमान गिराउनेछैन। एकता र हजुरको गरिमालाई हरेक बोली, हरेक पाइला र हरेक विचारमा सम्झेर हिँड्नेछु। कूल र समाजका लागि बिझाउनेछैन, बरु परदेशबाटै भए पनि समाज बुझ्ने, पढ्ने, सम्झने प्रयास गर्नेछु। शिर झुक्ने, झुकाउने काम मबाट हुने छैन, बा१ आशीर्वाद दिनुहोला।
आज कुशे औँसीमा मात्र होईन हरदिन हजुर लाई हेरीरहेछू, नियालीरहेछू, समझिरहेको छु तपाईं अझै हुनुहुन्छ।यत्र तत्र सर्वत्र
कुशे औँसीको धेरै–धेरै सम्झना, बा।
जहाँ हुनुहुन्छ, त्यहीँबाट हेर्नुहोला,तपाईंले सिकाएको बाटोमा हिँड्ने प्रयास गर्दैछु।
आशीर्वाद दिनुहोला, है बा
मेरा बा हो
एम पी अर्याल
एक परदेशी (परदेशी)
अर्जुनचौपारी १ बगाहखेत स्यांगजा

