सबै समाचारसमाचारसमाजआँधिखोला सेरोफेरोराजनीतिस्वास्थ्यमनोरंजनपत्रपत्रिका बाटकृषिअर्थखेलकुदNewsअन्तराष्ट्रिय
आँधिखोला सेरोफेरो · समाचार · समाज

वालिङमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

वालिङ नगरपालिका–६ पाडेटारीमा हाईस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बिहीबार दिउँसो करिब १२ः२० बजे मिर्दीदेखि चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको विद्युतीय हाईस र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारीको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार रामपुर नगरपालिका–५ कै २३ वर्षीय सरोज विकको बाँया हात र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र हाईस चालक स्याङ्जाको भिरकोट नगरपालिका–८ रिपका करिब ४९ वर्षीय चोकबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय वालिङबाट ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले बताए।

लेखक / संवाददाता

विनोद घताने

विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।

सबै समाचार →