

नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाले आफ्नो २३औँ जिल्ला परिषद वालिङमा सम्पन्न गरेको छ । जिल्लाभरका करिब दुई सय ५० जना शिक्षकहरूको सहभागिता रहेको परिषदले सङ्गठनको आगामी कार्यदिशा, शैक्षिक सुधार तथा शिक्षकका पेशागत हकहितका विषयमा व्यापक छलफल गरेको छ ।
परिषदको उद्घाटन गर्दै सङ्गठनका निवर्तमान राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीले गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकको भूमिका अझ प्रभावकारी बनाउन सङ्गठन सुदृढ हुनुपर्नेमा जोड दिए । उनले बदलिँदो शैक्षिक परिवेश अनुसार शिक्षकको क्षमता विकास, पेशागत मर्यादा तथा शैक्षिक नीतिमा शिक्षकका सुझावलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा सङ्गठनका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकका साझा समस्या, सङ्गठनको सुदृढीकरण र आगामी कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए । परिषदले सङ्गठनको वार्षिक प्रगति समीक्षा गर्दै आगामी वर्षका लागि सङ्गठन विस्तार, शिक्षक क्षमता अभिवृद्धि, पेशागत अधिकार संरक्षण तथा शैक्षिक सुधारसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

संगठनका पदाधिकारीहरूले परिषद सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै शिक्षकहरूको एकता, पेशागत मर्यादा र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्तिका लागि सङ्गठन निरन्तर सक्रिय रहने बताएका छन् ।

