

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारलाई नागरिकका पक्षमा काम गर्न सुझाव दिएका छन् । झण्डै दुई तिहाईको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका हुन । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ (क) ले स्याङ्जाको वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले सरकारले नागरिकका पक्षमा काम गरेको खण्डमा काँग्रेसले बाहिरै बसेर पनि सहयोग गर्न तयार रहेको बताए ।
सरकारले दुई तिहाईको दम्भ देखाएर कानूनलाई हातमा लिएर अगाडि बढ्न खोजेकाले यसमा काँग्रेसको सहमति नरहने उनले बताए । कोही कसैले थर्काएर, तर्साएर काँग्रेस नतर्सिने, नथिर्किने बताउँदै उनले पार्टी सभापतिमाथि लगाईएको मिथ्या आरोपको छानविन गर्न पनि माग गरे । पछिल्लो समय सरकारले नागरिकहरुको शाख गुमाउँदै गएको दावी गर्दै काँग्रेसले सरकारका विरुद्ध लड्नकालागि अभियान सुरु गर्ने पनि जनाउ दिए । पार्टीको जिम्मेवारी पाएका नपाएका सबैले उत्तिकै जिम्मेवारीसहित पार्टीको संगठनलाई अझै मजबुत बनाउँदै अगाडि बढ्नकालागि उनले नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सोही अवसरमा उनले स्याङ्जा क्षेत्र नं २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, तिलक रानाभाट, युवराज पाण्डे, खुमाप्रसाद अर्याल, अनुप श्रेष्ठ, सुवास पौडेल, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, काँग्रेस स्याङ्जाका सभापति राजु थापा, स्याङ्जा क्षेत्र नं २ का क्षेत्रीय सभापति अर्जुनप्रसाद खनाल, काँग्रेस क्षेत्र नं २ (क) का सभापतिका उपविजेता छविलाल आलेलगायतले पार्टीको संगठन विस्तार जोड दिएका थिए ।

काँग्रेस वालिङ नगर सभापति पदमराज गुरुङको स्वागतसँगै सुरु भएको कार्यक्रम प्रदेश सभापति यामप्रसाद अधिकारी लक्ष्मणको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव राजु तिवारीले गरेका थिए ।

