विपद् प्रभावित ४७ जनालाई निजी आवास पुनर्निर्माणको अन्तिम किस्ता भुक्तानी गरिने

आँधिखोला सेरोफेरो समाचार समाज

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले विपद् प्रभावित ४७ जना लाभग्राहीलाई निजी आवास पुनर्निर्माणको अन्तिम किस्ता भुक्तानी गर्ने निर्णय गरेको छ। समितिले विपद्का कारण घर पूर्ण क्षति भएका थप दुई जनालाई समेत लाभग्राही कायम गरेको छ।

बिहीबार बसेको समितिको बैठकले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ स्वीकृत गरेको छ। बैठकले मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रमा तत्काल जोखिम न्यूनीकरणसँगै दीर्घकालीन संरक्षणका काम अघि बढाउने निर्णय गरेको हो।

कालीगण्डकी नदी र सेतीखोलाको बाढीका कारण डुबानमा परेको गल्याङ नगरपालिका–५ सेतीवेणी बजार, शिला शालिग्राम क्षेत्र र पिडीखोला बजार क्षेत्रमा बाढी तथा पहिरो नियन्त्रणका उपाय अपनाउने निर्णय भएको छ। मनसुनका कारण हालै क्षति भएका अन्य क्षेत्रको समेत संरक्षण र जोखिम न्यूनीकरण गरिने समितिले जनाएको छ।

समितिले जोखिमयुक्त क्षेत्रमा तत्काल आवश्यक व्यवस्थापन गरी जनधनको क्षति न्यूनीकरण गर्ने तथा प्रभावितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा समेत निर्णय गरेको छ।

हालैको मनसुनजन्य विपद् र वन्यजन्तुको आक्रमणबाट भएको जनधनको क्षतिपूर्ति तत्काल उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। भौतिक संरचनाको संरक्षण र विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अन्य निर्णयसमेत गरिएको छ।

बैठक जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेको अध्यक्षतामा बसेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *