

गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालय बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलज्यूले एक समारोहबीच समुद्घाटन गरे ।
उक्त कार्यालयको समुद्घाटनसँगै हाल लाजिम्पाट, काठमाण्डौमा रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा स्थानान्तरण गरिएको छ । २०६४ साल कार्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार प्रारम्भ गरेको विकास बैंकले २०६७ साल वैशाख १ गते कास्कीको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपश्चात २०७३ साल चैत २७ गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिम्पाटमा स्थानान्तरण गरेको थियो ।

नवनिर्मित केन्द्रीय कार्यालयको समुद्घाटनको कार्यक्रमको अवसरमा कार्यालय परिसरमा निर्मित मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठा सहित धार्मिक पूजाआजा समेत आयोजना गरिएको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले २०६४ सालमा स्याङ्गजाको वालिङबाट शुरु भएको यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाण्डौ आइपुगेकोमा, आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै विकास बैंकको अर्को अध्याय शुरु भएको बताए ।

साथै, उनले विकास बैंकको सफल व्यावसायिक यात्रामा लाखौ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकायहरु, व्यावसायिक साझेदार संस्थाहरुको विश्वास सँगै कर्मचारीहरुको कठोर मेहनत र योगदान तथा संस्थागत सुशासन महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैगरी समुद्घाटन समारोहको समापन सत्रमा बोल्दै विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँणज्यूले ग्राहकलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राखी आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय सहित ५१ एटीएम मेसिन एवं नविनतम बैंकिङ्ग सुविधा सहित करिब १० लाख ग्राहकहरुलाई सरल सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।
