प्रशासनद्धारा अनुगमन, हरिनासमा ३० हजार बराबरका सामग्री जफत

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले हरिनास गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का स्थानीय बजारमा अनुगमन गरी ३० हजार ७ सय ८० रुपैयाँ बराबरका सामग्री जफत गरेको छ।

टोलीले हरिनास गाउँपालिका–२ को चिसापानी, रोदी खोला लगायतका स्थानीय बजारमा खाद्यान्न, औषधिजन्य, मासुजन्य, हार्डवेयर र फेन्सीलगायतका २१ वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो। अनुगमनका क्रममा विद्यालय परिसरको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने पाँच वटा व्यावसायिक फर्म फेला परेका थिए।

त्यस्तै, कानुनबमोजिम अनुमति नलिई पेट्रोलियम पदार्थ बिक्री गरेको समेत पाइएको थियो। अनुमति नलिई बिक्री गरिएका सुर्तीजन्य तथा अन्य सामग्रीसहित पेट्रोलियम पदार्थ बिक्री गर्ने फर्मबाट ३० हजार ७ सय ८० रुपैयाँ बराबरका सामग्री जफत गरिएको टोलीले जनाएको छ।

अनुगमनका क्रममा अधिकांश व्यवसायीमा विक्रेता तथा उपभोक्ता अधिकारसम्बन्धी जानकारीको कमी रहेको पाइएको थियो। कतिपय दर्ता भएका पसलले नवीकरण नगरेको तथा सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्रीका लागि आवश्यक अनुमति नलिएको समेत भेटिएको थियो। अनुगमन टोलीले कानुनी प्रक्रिया पूरा नगरेका व्यावसायिक फर्मलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी अनुमति लिन तथा दर्ता नवीकरण गर्न निर्देशन दिएको छ।

सामान्य सुधार आवश्यक देखिएका फर्मलाई सचेत गराइएको छ। यसै क्रममा हरिनास गाउँपालिका–२ स्थित महिमा माध्यमिक विद्यालय, चिसापानीमा विद्यार्थीका लागि उपभोक्ता सचेतनासम्बन्धी लघु सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई उपभोक्ता अधिकार तथा बजारमा वस्तु तथा सेवा खरिद गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *