सतौँ चण्डी कालिका मन्दिरमा महानवमी दुर्गा उत्सव, धार्मिक क्षेत्रको विकासमा जोड

आँधिखोला सेरोफेरो समाचार समाज

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ स्थित सतौँ चण्डी कालिका मन्दिरमा बडादसैँ २०८३ को अवसरमा महानवमी दुर्गा उत्सव आयोजना गरिने भएको छ।

श्री सतौँ चण्डी कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा कात्तिक ३ गते महानवमी दुर्गा उत्सवअन्तर्गत साङ्गीतिक प्रवचन, सङ्कीर्तन तथा भजनकीर्तन कार्यक्रम हुन लागेको हो।

सुप्रसिद्ध कथावाचक आचार्य श्री प्रशान्त ढकाल ज्युको मुखारविन्दबाट सतौँ चण्डी धार्मिक क्षेत्रको सर्वाङ्गीण विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका सचिव केशव ढकाले जानकारी दिए ।

धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको सतौँ चण्डी कालिका मन्दिर स्याङ्जाको प्रमुख धार्मिक स्थलमध्ये एक हो। पुतलीबजार नगरपालिका–१४, सतौँमा अवस्थित यस मन्दिरमा विभिन्न धार्मिक अवसरमा भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

सतौँ चण्डी कालिका मन्दिरसँगै यस क्षेत्रको ऐतिहासिक पहिचानका रूपमा सतौँकोटसमेत रहेको छ। धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमार्फत यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

महानवमीका अवसरमा आयोजना हुने उत्सवले धार्मिक जागरण अभिवृद्धि गर्नुका साथै सतौँ चण्डी क्षेत्रको प्रचारप्रसार र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *