वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न शुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइनेछ । आर्थिक वर्ष २०७९÷०८० मा चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो ।
यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत दिईएको थियो । वालिङ नगरपालिकामा ७ हजार २८ जना लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । जसमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४ हजार १७८ जना, दलित जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ३४६ जना, जेष्ठ नागरिक एकल महिला ६०२, विधवा ८१७, पुर्ण अपांगता १३१, अति अशक्त अपांगता २९५, दलित बालबालिका ६५९ जना बालबालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
यसरी चालु आर्थिक वर्षको चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राही ७ हजार २८ जनाले इएफटि प्रणाली इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीबाट प्राप्त गरेका छन् । जिल्लाका ११ पालिका मध्ये वालिङमा पहिलो पटक यो प्रणाली लागू भएको भन्दै विद्युतिय प्रणालीले पारदर्शिता कायम गर्ने नगरप्रमुख कृष्ण खांणल बताए । आगामी ४ वर्षको अवधिमा नागरिकले आभास गर्ने खालका कामहरु हुने भन्दै नगरप्रमुख खांणले नगरको विकासको लागी प्रविधि पनि मुख्य पक्ष भएको बताए ।
इएफटि प्रणाली देशका ७५३ स्थानीय तहमध्ये वालिङ सहित ५० पालिकामा लागू भएको छ । गण्डकी प्रदेशका पालिका मध्ये वालिङ सहित कास्कीको पोखरा महानगरपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र तनहुँको व्यास नगरपालिकामा इएफटि प्रणाली लागू भएका वालिङ नगरपालिका सामाजिक सुरक्षा सूचना व्यवस्थापन प्रणालीका पदमप्रसाद पराजुलीले जानकारी दिए । राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभाग र वालिङ नगरपालिकाको व्यवस्थापनमा यो प्रणाली लागू गरिएको हो ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।