

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले छलफलका लागि पालिका पुगेका संघीय सांसद डा. धनन्जय रेग्मीको टोलीलाई अबरोध गरेका छन् । पुतलीबजार नगरपालिकाको प्रगती बुझ्न पालिका पुगेको टोलीलाई सांसद सहित ३ जना कार्याक्रममा सहभागी हुन भन्दै अबरोध गरेका हुन् । डा रेग्मी कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा अनुभवी विज्ञसहितको टोली लिएर नगरपालिकाको कामको प्रगति बुझ्न पुगेका थिए। भ्रमण पूर्व जानकारी दिइएको भए पनि नगरप्रमुखले बैठकमा सहभागी हुन आएको टोलीका सदस्यहरूमध्ये केहीलाई जानाजानी रूपमा प्रवेश गर्न रोकेको आरोप लागेको छ।
यस घटनाले पुतलीबजार नगरपालिकामा एक असामान्य, अन्यायपूर्ण र गैर(लोकतान्त्रिक अवस्था सिर्जना गरेको भन्दै स्थानीय स्तरमा व्यापक आलोचना सुरु भएको छ। सरकारी कार्यालय कुनै व्यक्तिको निजी सम्पत्ति होइन, यो जनताको संस्था हो। यस्तो कार्यालयमा जनप्रतिनिधि र सरोकारवालाले प्रवेश गरी सूचना लिन पाउनु उनीहरूको अधिकार हो। तर, नगरप्रमुखको व्यवहारले कार्यालयलाई निजी क्षेत्रजस्तो व्यवहार गरिएको संकेत दिएको भन्दै प्रश्न उठेको छ।

सूचना दिने दायित्व बोकेको पदमा बसेको व्यक्ति स्वयंले पारदर्शिताभन्दा रोकतोकलाई प्राथमिकता दिनु जवाफदेहिता र सुशासनप्रति प्रतिकूल संकेत भएको विश्लेषकहरूको भनाइ छ। यद्यपि, यस्तो असहज परिस्थितिका बीच पनि सांसद डा रेग्मीले संयमता अपनाउँदै बैठकमा सहभागिता जनाएका थिए। उनले नगरपालिकाका कार्यक्रमहरूको समीक्षा गर्दै विकास योजनाहरूलाई वैज्ञानिक, तथ्यमा आधारित र परिणाममुखी बनाउन स्पष्ट सुझाव दिएका थिए।

प्रारम्भिक अवलोकनमा नगरपालिकाका कामहरूमा पर्याप्त तथ्याङ्कको अभाव, दीर्घकालीन योजना कमजोर रहेको तथा कार्यान्वयनमा प्रभावकारिता नदेखिएको उल्लेख गरिएको छ। स्थानीय बासिन्दाहरूले निर्वाचित प्रतिनिधिहरूबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुनुपर्ने बताएका छन्। साथै, जनताको म्यान्डेटबाट आएको प्रतिनिधिलाई सम्मान गर्नु र सार्वजनिक संस्थालाई खुला र जवाफदेही बनाउनु नै लोकतन्त्रको मूल आधार भएको उनीहरूको भनाइ छ। समिक्षा तथा छलफल कार्यक्रम भएकाले अनावश्यक व्यक्ती आउन नपर्ने भनेको नगरप्रमुख रेग्मीले बताए । उनले शाखा प्रमुखहरु सहितको कार्यक्रम भएकाले अनावश्यक व्यक्ती नआउन भनेको जानकारी दिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।