मुख्य निर्वाचन कार्यालय स्याङजाले सदरमुकाममा रहेको त्रिभुवन आदर्श मा.वि.मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुलाई मात्रै छनौट गरेको छ । क, ख र ग गरि ३ केन्द्र रहेको पुतलीबजारको त्रिभुवन आदर्श मा.वि. स्थललाई महिला मैत्री बनाईएको हो ।
महिलाहरु पनि सक्क्षम र परेको बेला काम गर्न सक्छन भन्ने सन्देश दिन त्रिभुवन आदर्श मा.वि. स्थलमा महिला कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए । जिल्ला न्यायाधिस समेत रहेका पौडेलले जिल्ला सदरमुकाममा पनि रहेको र नमुना मतदान स्थल बनाउन महिला कर्मचारी छनौट गरिएको बताए ।
३ केन्द्र रहेको मदतान स्थल मध्य क केन्द्रको मतदान अधिकृतमा शारदा शर्मा र सहायक मतदान अधिकृतमा सृजना लामिछाने, ख केन्द्रको मतदान अधिकृत बसुन्धरा शर्मा र सहायक मतदान अधिकृतमा ज्योती गुरुङ र ग केन्द्रको मतदान अधिकृतमा डा. सुभद्रा कार्की र सहायक मतदान अधिकृतमा सपना वली रहेका छन् ।
क मतदान केन्द्रकी अधिकृत र सहायक मतदान अधिकृत क्रमश तथ्यङक कार्यालय र पुतलीबजार नगरपालिकाका कर्मचारी हुन भने ख की मतदान अधिकृत र सहायक मतदान अधिकृत क्रमश स्वास्थ्य कार्यालय र कोल्मा स्वास्थ्य चौकीकी कर्मचारी रहेका छन् । ग केन्द्रकी मतदान अधिकृत र सहायक मतदान अधिकृत क्रमश जिल्ला आयुर्वेद कार्यालय र जिल्ला अदालतकी कर्मचारी रहेका छन् ।
त्यसैगरी त्रिभुवन आदर्श मा.वि मतदान स्थलमा क मा सहायक कर्मचारीमा रिता लामिछाने र अमृता अधिकारी र सहयोगी कर्मचारी प्रेम कुमारी लामिछाने, ख मा सहायक कर्मचारी अम्बिका कुमारी शर्मा अधिकारी र शेष कुमारी लामिछाने र सहयोगी कर्मचारीमा जया लामिछाने रहेकी छन् । त्यसैगरी ग केन्द्रमा सहायक कर्मचारीमा अमृता गोदार र शर्मिला दवाडी र सहयोगी कर्मचारीमा रेश्मी पौडेल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पहिलाका निर्वाचनमा मतदान केन्द्रहरुलाई महिला मैत्री बनाईए पनि अहिले मतदान स्थललाई नै पहिलो पटक महिला मैत्री बनाईएको हो । मतदान स्थलमा खटिने सुरक्षाकर्मीहरु पनि महिला नै हुने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । कुल २ लाख ४० हजार ५ सय ३५ मतदाता रहेको स्याङजामा ३ सय १८ मतदान केन्द्र र १ सय ९९ मतदान स्थल रहेका छन् । निर्वाचनका लागि मुख्य निर्वाचन कार्यालयले १ हजार ५ सय ९० कर्मचारी खटाएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।