त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका स्याङ्जाका ६ वटा क्याम्पस खारेजीमा जाने सम्भावना बढ्दै गएको छ । स्याङ्जाको आलमदेवी वाणिज्य क्याम्पस कालिकोट, लसर्घा, बिरुवा बहुमुखी क्याम्पस, किचनास, दिलीप राजेश्वरी कलेज वालिङ, पाइनर मल्टिपल कलेज, वालिङ, जनप्रदीप बहुमुखी क्याम्पस, चिलाउनेबास र पञ्चकन्या बहुमुखी क्याम्पस, अर्जुनचौपारी खारेजीमा जाने सम्भावना बढ्दै गएको हो ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयका अनुसार नविकरण गर्न पटक पटक सूचित गर्दा पनि नगरेकाले क्याम्पस खारेजीमा जाने सम्भवाना बढेको हो । विश्वविद्यालयले नविकरण नगरेका क्याम्पसहरुको सुचि त्रिविको वेबसाइटमा समेत प्रकाशित गरिएको छ । त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरुलाई त्रिवि नियामनुसार कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो । कुनै क्याम्पस नविकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत त्रिविले अनुरोध गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको १०५८ मध्ये १७५ क्याम्पस नविकरण नभएको विश्वविद्यालयले जनाएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।