चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीब्रता दिएको छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा चापाकोट नगरपालिकाबाट जिल्लाको बजार क्षेत्रको अनुगमनको सुरुवात गरेको हो ।
अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद नाघेका सामान बिक्री वितरण गरेको, बिल विजक जारी नभएको भेटिएपछि पाँचवटा फर्महरुलाई कूल दुई लाख ८५ हजार जरिवाना तिराएको छ । चापाकोटको किसान स्टोर्सलाई मूल्य सूची नराखेको र ब्लुडायमण्ड रक्सीमा रि लेवलिङ गरेको पाइएकोले १ लाख जरिवाना गरेको छ भने त्यहाँबाट केही थान डेट एक्सपाएर बिष्कुटसमेत बरामद गरेको छ । त्यसैगरी पाठक हार्डवयरलाई बिल विजक जारी नगरेकोमा बीस हजार, न्यू राधाकृष्ण ट्रेडर्स र सोनी दामाचौर हार्डवयरलाई मूल्यसूची नराखेको र बिल बिजक जारी नगरेकोमा क्रमशः ५५ र ६० हजार जरिवाना गराएको छ ।
खनाल स्टोर्सबाट म्याद सकिएको समानहरु नष्ट गरी मूल्य सूची नराखेकोमा ५० हजार जरिवाना तिराएको छ । स्टोर्सबाट म्याद सकिएको घिउ ५०० ग्रामको ५ वटा, लिची जुस २८ बोतल, वेशन पीठो १ प्याकेट र सूजी एक पाकेट बरामद गरेको जिल्ला प्रसाशन कार्यालय स्याङ्जाले बताएको छ । म्याद नाघेको बिष्कुट, घिउ, लिची जुस, बेशनपीठो, सुजीलगायतका सामग्री जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुगमनमा आएको थाहा पाउनसाथ चापाकोटका केही ठूला व्यापारीहरु भने पसल बन्द गरेर बसेको स्थानीयले बताएकाछन् । चापाकोट नगरपालिकाले दिएको मूल्यसूची राख्ने निर्देशन पालना नगरेको देखिएकोले मूल्यसूची राख्न पुनः अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
उपभोक्ता संरक्षण एने २०७५ को प्रावधानअनुसार जरिवाना रकम बैंकमा दाखिला गर्न अनुरोध गरेको उनको भनाई छ । चापाकोट नगरपालिकाले झण्डै एक महिनाअगाडि बजार क्षेत्रको अनुगमन गर्दा विभिन्न पसलहरुबाट म्याद नाघेको सामानहरु भेटिएपछि सचेत गराएर छोडेको थियो । अनुगमनका क्रममा घरेलु तथा पर्यटन कार्यालय, उपभोक्ता मञ्च, चापाकोट नगरपालिकाका जनप्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो । जिल्ला प्रसाशन कार्यालयले मंगलबार अर्जुन चौपारी क्षेत्रको बजार अनुगमन गरिएको र यो कार्य निरन्तर चलिरहने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।