मुक्तिनाथ विकास बैंक कस्टमर सर्भिसकी कर्मचारी सन्ध्या भण्डारीलाई स्याङजाको विरुवा गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीबजार नगरपालिका १४ लामागे घर भएकी २१ वर्षीय भण्डारीलाई सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । आमसर्वसाधरणको रकम अपचलन गर्नेलाई कडा कारबाही गर्न सहकारीका बचतकर्ताले आग्रह गरेका छन् ।
पुतलीबजार नगरपालिका–३, बाड्खोलामा प्रधान कार्यालय रहेको सुर्याेदय बचत तथा ऋण सहकारी लिमिटेडको विरुवा सेवा केन्द्रमा रकम हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङजामा साउन १० गते मुद्धा दर्ता भएको थियो । सोही क्रममा अनुसन्धानका लागि सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई प्रहरीले ११ गते नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी प्रहरीले विरुवा गाउँपालिका ८ कार्कीडाडाका तारेन्द्रबहादुर केसीलाई पनि सोही मुद्धामा अनुसन्धानका लागि मंगलबार नै नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सोमबार नै पक्राउ पुर्जी जारी गराएको थियो । पक्राउ पुर्जी जारी भएका विरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुवँर भने फरार रहेका छन् ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।