

गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप १ सय १५ जना कृषकलाई रकम उपलब्ध गराइएको हो ।
एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए । पछिल्लो समय यान्त्रिक हलो (पावर टिलर) को प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरुमा सहजरुपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मर्मत गर्नका लागि झन समस्या हुने भएकाले कृषकहरुलाई हल गोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिइएको हो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ कालागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउनका लागि हल गोरु पालेका कृषकहरुसँग आवेदन माग गर्नेसम्बन्धी सूचना गरेको थियो । सूचनाका आधारमा नगरपालिकाका ११ वटै वडाबाट ११६ हल गोरु पाल्नुभएका कृषकले आवेदन दिएकाले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक महादेव बनले जानकारी दिए ।

नगरपालिकाभित्र हल गोरुको सङ्ख्या आवेदन आएकाभन्दा धेरै रहेको तर कृषकले जानकारी पाएर पनि आवेदन नदिएको हुनसक्ने उनको दाबी छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ कालागि पनि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ । आगामी आवमा चालु आवमा प्रोत्साहन अनुदान नपाएका हल गोरु पाल्ने कृषकले अनुदान पाउने भएका छन् ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
