

स्याङजाका तत्काली प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालमा उजुरी परेको छ । चापाकोट नगरपालिकाको सिमानामा पर्ने कालीगण्डकी नदिमा पटक पटक दोहन हुदाँ तत्कालीन प्रमुख जिल्ला अधिकारी नेपालले आर्थिक चलखेल गरी मौन बसेको आरोपमा अख्तियारमा उजुरी परेको हो ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला अनुगमन समितिको तर्फबाट गएको असारमा निरिक्षण गर्दा चापाकोट र गल्याङ नगरपालिकामा कालीगण्डकी नदीबाट उत्खनन् गरी स्टोर गरिएको भेटीएको थियो । अनुगमनका क्रममा स्थानीयले प्रजिअ नेपाल आर्थिक चलखेल गरी मौन बसेको भन्दै उजुरी दिएका हुन् ।

जिल्ला समन्वय समिति स्याङजाका उपप्रमुख खड्कराज सुवेदीको नेतृत्वमा भएको अनुगमनका क्रममा करिब ३ हजार घनमीटर ढुंगा, गिट्टी, बालुवा उत्खनन भएको भेटिएको थियो । सोही क्रममा भेटीएको ढुंगा, गिट्टी र बालुवाको मुल्याङकन गरी सम्बन्धीत पालिकामा राजश्व तिर्न भनिएको थियो ।

उत्खनन्को अनुगमन गर्दा चापाकोट–१, साम्पासमा अमर कन्ट्रक्सनले १५ सय ७८ घनमिटर ढुंगा, गिट्टी र बालुवा, जोगीनाम्सामा वडा सदस्य सन्तोष थापाले २५ घनमिटर चोक्कर, वडा नं. ८ दामाचौर शिव श्रेष्ठले १ सय घनमिटर बालुवा र सोही स्थानमा होमबहादुर वि.क.ले ३५ घनमिटर बालुवा दोहन गरेको भेटिएको थियो । त्यसैगरी अमर कन्ट्रक्सनले गल्याङ नगरापलिकाको ९ मा पनि १ हजार १ सय ९५ घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेको पाईएको थियो । यो एक नमुना मात्रै रहेको थियो ।
पूर्वाधार विकास कार्यालय स्याङजाले गल्याङ चापाकोट खण्ड कालोपत्रे गर्न करिब ४२ करोडमा अमर कन्ट्रक्सन सग सम्झौता गरेको थियो । उक्त सडक कालोपत्रे गर्न कन्ट्रक्सनले अबैध रुपमा कालीगण्डकी नदीबाट उत्खनन् गरी ठाउँठाउँमा निर्माण सामाग्री स्टोर गरेको थियो । त्यसैगरी विक्री वितरण गर्ने हेतुले स्थानीयहरुले पनि कालीगण्डकी दोहन गरी स्टोर गरेका थिए । कालीगण्डकी नदीको सभ्यता धेरै रहेको बताउदै सर्वाेच्च अदालते पछिल्लो समयमा उत्खनन् गर्न नपाईने फैसला गरेको छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
