

स्याङ्जा सदरमुकाममा लगानीकर्ता शिक्षा, प्रचारप्रसार, प्रबर्द्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । शनिबार स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको व्यवस्थापन तथा सहजीकरण र कम्पनी रजिष्ट्रारको कार्यालय लगानीकर्ता संरक्षण कोषको सचिवालयको आयोजनामा भएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले बोर्डको परिचय सहित काम, कर्तव्य अधिकारका बारेमा जानकारीमुलक सामग्री प्रस्तुत गरेका थिए । उनले कानुनी व्यवस्थाहरु र आर्थिक अर्थतन्त्रअन्तर्गत सार्वजनिक वित्त, बाह्रय क्षेत्र मौद्रिक तथा वित्तीय क्षेत्रका बारेमा समेत प्रकाश पारे ।
यस्तै, कार्यालयका एक अधिकारीले नेप्से सम्बन्धी जानकारी गराएका थिए भने कम्पनी कै अर्का अधिकारी सुभाषिस कुवरले कम्पनी रजिष्ट्रार कार्यालयबाट हुने कार्य अनलाइनबाट कसरी गर्ने भन्ने बारे स्पष्ट पारेका थिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, महिला उद्यमी महासंघ नेपाल स्याङ्जाका अध्यक्ष चन्द्रकला राना, स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ, पुतलीबजार नगर शैक्षिक सुधार समितिका संयोजक मुक्ती प्रसाद रेग्मी, नेपाल विद्युत प्राधिकरण स्याङ्जाका लेखा प्रमुख किशोर घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्योग वाणिज्य संघ स्याङ्जाको सभाहलमा सम्पन्न कार्यक्रमको समन्वय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले गरेका हुन । उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बलराम निरौलाले कार्यक्रममाथी प्रकाश पारेका थिए भने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका सदस्य सुर्य प्रसाद शर्मा लामिछानेले धन्यवाद एवम् महासचिव रविन्द्र के सीले संचालन गरेका थिए ।

अन्तरक्रियामा स्याङ्जाका १ सय भन्दा बढी लगानी कर्ता, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालमा हाल ३ लाख ५८ हजार बढी कम्पनीहरु रहेका छन भने कम्पनी रजिस्ट्रारको दफा १ सय ८३ मा लगानी संरक्षण कोषको बारेमा स्पष्ट उल्लेख छ ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।