गणतन्त्रमा नातावाद

राजनीति समाचार समाज

संविधान भन्छ, समावेशी लोकतान्त्रिक गणतन्त्र । जसको मर्म र भावना हो, सबै क्षेत्र वर्ग लिंग र जातीको समान प्रतिनिधित्व । त्यसैका लागि यो मुलुकमा संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको हो । तर, पछिल्लो नियुक्तिको प्रसंगले सरकार असमावेशी भएको आरोप लागेको छ ।

पछिल्लो पटक देउवा सरकारले १२ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय ग¥यो । गैर सांसदलाई मन्त्रीमा नियुक्ति गर्नेदेखि आफन्तलाई राष्ट्रिय सभा सदस्य र राजदूतमा नियुक्त गर्ने विषयले सरकार आलोचित बन्यो । जहाँ सरकारले समावेशी र समानुपातिक प्रतिनिधित्वको आधारमा नियुक्त गर्नु पर्ने थियो । तर, सरकार संविधानको समावेशी मर्म र भावनालाई ग्रहणै नगरी शीर्ष नेताका आफन्तहरु सांसद, मन्त्री र राजदूतमा नियुक्ति भए ।

विहीवारको मन्त्रिपरिषद बैठकले निर्णय ग¥यो, जहाँ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालका आफ्नै सहोदर भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा सिफारिस भए । यद्यपि दाहालको यो आफन्ती नियुक्ति पहिलो त थिएन, यस अघि पनि उनले अष्ट्रेलियका लागि भतिजो महेश दाहाल राजदूत बनाएका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले छोरी रेणुलाई भरतपुर महानगरको मेयर र बुहारी विना मगरलाई यस अघि मन्त्री बनाएका थिए ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि के कम, उनले पनि बहिनी ज्वाइँ कैलाश पोखरेललाई राजदूत बनाउन भ्याए । नेपालका बहिनी ज्वाइ पोखरेल राजदूतमा नियुक्त भएकै दिन गोविन्द बन्दी कानून मन्त्री बने । बन्दी माधव नेपालको पारिवारिक नातेदार हुन् । माधव नेपाल र सोम प्रसाद पाण्डे सम्धी सम्धी हुन् । तीनै पाण्डे र नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दी साँढु हुन् । त्यस्तै लामो समय माधव नेपालको स्वकीय सचिव भएका यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा यस अघि नै नियुक्त भएका थिए ।

यसपटकको राजदूत नियुक्तिको मौकामा माओवादी केन्द्रकी नेता तथा उर्जा मन्त्री पम्फा भुुसालले पनि बाजी मारिन् । जहाँ उनले पनि आफ्नै बहिनी ज्वाइँ बासुदेव मिश्र पनि राजदूतमा नियुक्त गरिन् । समावेशी र समानुपातिकको वकालत गर्ने मन्त्री भुसाल पनि आफन्त भर्ती गर्न यसपटक दरिन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा त झनै के कम । आफ्नै हातमा डाडु पन्यु भएको बेला आफन्तलाई नियुक्त गर्न उनी पछि परेनन् । आफ्नै युवाकालीन मित्र ज्योति प्याकुरेललाई राजदूत बनाए । उनको आफन्त भर्तीमा सबै भन्दा अघि भएका विगतका नजिर छन् । पार्टीभित्र होस् या राजकीय जिम्मेवारीमा प्रधानमन्त्री देउवा कहिल्यै पछि पर्दैनन् ।

यी त केही दृष्टान्त मात्र हुन् । दलभित्र नातागोता केलाउने हो भने यस्ता उदाहरण कयौं छन् । राजनीतिक शक्तिको आडमा आफ्ना मान्छे भर्ति गर्ने गलत अभ्यास नौलो त होइन, तर, विधि र पद्धतिकै विषयमा चर्का भाषण गर्नेहरुले नै धमाधम आफन्त भर्ती गर्दा पार्टीभित्र वर्षौ योगदान गरेका सक्षमहरुको आत्मा कति रुँदो होला ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *