दरौखोलामा दश हजार माछाका भुरा छाडियो, माछा मार्न रोक

आँधिखोला सेरोफेरो समाचार समाज

अर्जुनचौपारी गाउँपालिले दरौखोलामा बिभिन्न जातका १० हजार माछाका भुरा छोडेको छ । मत्य बिकास केन्द्र मिर्मी सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलमा छोडेको हो ।

दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो पटक खोलामा माछाका भुरा छाडेको अध्यक्ष प्रकाश तिवारीले बताए । अबको १५ दिनमा थप पाचँ हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताए ।

धेरै ठाउँमा खोलालाई माछा मार्फत आय आर्जनमा जोडिएको र बिज्ञ सगँको छलफल गरेर खोलामा माछाका भुरा हालेको उनले बताए । पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको हो भने पालिकाले आगामी आर्थिक बर्षमा एक लाख भुरा खोलामा छाड्ने योजना बनाएको छ ।

खोलमा माछाका भुरा हालेसगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए । परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविको पार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने छ ।

जीविको पार्जनमा कठिनाइ भएका व्यक्ती वा समुदायलाई पालिकाकामा राहतका लागि निवेदन दिन पालिकाले सूचित समेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *