नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका स्याङ्जाका जनप्रतिनिधिहरुका लागि सञ्चालन गरिएको अभिमुखीकरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले जनप्रतिनिधिहरुले जनमुखी काम गरे मात्रै काँग्रेस पार्टी बलियो हुने दाबी गरे ।
जनप्रतिनिधिहरुका लागि प्रशिक्षणका समेत दिँदै उपसभापति खड्काले स्थानीय तहबाट नै काम गर्न थाल्ने हो भने पार्टी त्यसै बलियो हुने बताए । रुपान्तरण आफैबाट हुनुपर्ने भन्दै खड्काले काँग्रेसको नीति र सिद्धान्तलाई पालना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
त्यसैगरी कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले सिद्धार्थ राजमार्गको स्तरोन्नति नभए स्याङ्जाको भविष्य नरहने बताए । नेपालकै पुरानो सडक भए पनि राज्यको ध्यान नजाँदा सिद्धार्थ राजमार्ग अस्तव्यस्त भएको गुरुङको भनाई थियो । नेता गुरुङले सिद्धार्थ राजमार्गलाई चारलेनको बनाउनैपर्ने भन्दै यसतर्फ लाग्न जिल्लाका सबै नेताहरुलाई आग्रह गरे ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सरस्वती तिवारी, काँग्रेसका अग्रज नेता भोजराज अर्याल, खगेन्द्रराज रेग्मी, काँग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेस सभा सदस्य एवम् मन्त्री मेखलाल श्रेष्ठ, प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल, गण्डकी प्रदेश सदस्य तथा वालिङ नगरउपप्रमुख कविता तिवारी, गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई र भीरकोट नगरप्रमुख गोबिन्द कर्माचार्य लगायतले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
जिल्ला सभापति थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोद लम्साल र सहसचिव धुर्वबन्धु पौडेलले संचालन गरेका थिए भने स्वागत मन्तव्य उपसभापति केदार काफ्लेले राखेका थिए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।