पुतलीबजार नगरपालिकाको कार्यालयले जिल्ला प्रहरी कार्यालय स्याङजाको मिलेमतोमा लामागेमा आँधिखोलाको अबैध दोहन शुरु गरेको छ । उत्खननका क्रममा स्थानीयको अवरोध पछि पालिकाले प्रहरीको मिलेमतोमा अबैध दोहन गरेको हो ।
आर्थिक चलखेलमा आँधिखोलाको अबैध दोहन गरी मापदण्ड विपरीत क्रसर उद्योग स्थापना भएको संघर्ष समितिका संयोजक अग्निप्रसाद भण्डारीले जानकारी दिए । उनले नेपालका कुनै पनि खोलानालाहरुमा ठुला मेसिनहरु प्रयोग गरि दोहन गर्न नपाईने कानुन रहेको बताए ।
पुतलीबजार नगरपालिकाले दोहनका लागि कार्यपालिकाको निर्णय भन्दै लामा कन्ट्रक्सन प्रा.लि. काठमाडौंलाई अबैध पत्र मार्फत दोहन गर्न अनुमती दिएको छ । आँधिखोलाको अबैध दोहन तथा क्रसर राख्नका लागि निर्णय गर्ने अधिकार पालिकालाई नभएको जानकारहरु बताउछन् ।
पालिकाको बचाउ गर्दै पालिकाको निर्णयमा विकास निर्माण गर्नका लागि आँधिखोलामा उत्खनन् भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले बताए । यस बोरेमा बुझ्न खोज्दा गण्डकी प्रहरी प्रमुख डीआइजीलाई प्रश्न राख्न जिल्लाका प्रहरी उपरिक्षक शालिग्राम शर्माले आग्रह गरे भने डिआईजी दुर्गा सिंहले घटना बारे आफुले बुझ्ने बताइन् ।
पालिकाले लामा कन्ट्रक्सनलाई ३ वटा एक्साभेटर र ६ वटा टिप्पर मार्फत उत्खनन् गर्न अनुमती दिएको छ । आँधिखोलाको उत्खनन् तथा अबैध क्रसर स्थापनाको लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाको कमाण्डमा सुरक्षाकर्मी सोही स्थानमा परिचालन गरिएको छ ।
जिल्लामा गिट्टि बालुको उत्खनन् तथा क्रसरको अनुगमन र नियन्त्रणको अधिकार स्थानीय सरकारलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल आफ्नो दायित्वबाट पन्छीन खोजीन् । विश्व बैंकको ऋण तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा निर्माण सामाग्री स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने भएकाले आँधिखोला दोहन गर्न अनुपती दिएको पालिका प्रमुख तुलसीराम रेग्मीले बताए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।