

स्याङ्जा प्रहरीले समाजमा शान्ती सु व्यवस्था कायम राख्ने उद्देश्यले नागरिक, प्रहरी र स्थानिय तह बिच छलफल तथा अन्तरक्रिया एवम् सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा नागरिक, प्रहरीका बिच छलफल तथा अन्तरक्रिया गरिएको थियो भने गत ज्येष्ठ महिना देखि हालसम्म स्याङ्जा प्रहरीले गरेका कार्यहरुको समेत समिक्षा गरिएको थियो ।
प्रहरीका तर्फबाट स्याङ्जा प्रहरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले गत ज्येष्ठ महिना देखि हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिकारी चौधरीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार स्याङ्जा प्रहरीले गत साउन देखि यता ५४ जना फरार कसुरदार पक्राउ गरेको छ भने ज्येष्ठ देखि हालसम्म गरि १ सय १२ जना फरार कसुरदार पक्राउ गर्न सफल भएको छ । यसैगरी ज्येष्ठ महिनादेखि यता जरिवाना बापत २१ करोड ८ लाख १६ हजार २१ रुपिया संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारी चौधरीले तयार पारेको पछिल्लो तीन वर्षको अपराधिक तथ्यांक अनुसार असार महिनामा सबैभन्दा बढी र कार्त्तिकमा सबैभन्दा कम अपराधका घटना हुने गरेको छ । यस्तै, सबैभन्दा बढी अपराधका घटना मंगलबार र सबैभन्दा कम शनिबार हुने गरेको छ । स्याङ्जा प्रहरीले ज्येष्ठ महिना देखि हालसम्म ६५ हजार माथी गाजाका बोट फडानी, जेठ ६ बाट लापसे चेकिङ अभियान सुरु, जसमा २० जना लापसे गर्ने सवारी चालकलाई कानुनी कारबाही गरिएको, साउन देखी हालसम्म ६५८ वटा नागरिक तहमा सचेतना कार्यक्रम यसैगरी जेठ देखि हालसम्म १३ हजार बढी सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले शान्ती सुरक्षा र सु व्यवस्था अमनचयनमा स्याङ्जाका बासिन्दाका लागि स्याङ्जा प्रहरीले खेलेको भुमिका निकै सकारात्मक रहेको बताए । प्रमुख रेग्मीले शान्ती, सुरक्षा र सुव्यवस्थाका लागि स्याङ्जा प्रहरीले महत्वपुर्ण कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि त्यही गतिमा अघि बढ्ने अपेक्षा रहेको समेत बताए । सो कार्यक्रममा नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघ स्याङ्जाका पुर्व अध्यक्ष प्रकाश डोटेल लगायतले आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले नागरिक र सहभागीहरुका तर्फवाट उठेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिएका थिए । प्रहरी प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी निरीक्षक प्रवेश तिवारीले गरेका थिए ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।