

स्याङ्जाको पुतलीबजार नगरपालिकाले निशुल्क कुखुराको चल्ला तथा दाना वितरण अभियानलाई थप निरन्तरता दिएको छ । चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषी उत्पादनलाई प्रोत्साहन एवम् मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन गर्ने बलियो प्रयास अन्तर्गत पालिकाले पुतलीबजारका वडाहरु १२, १३ र १४ मा कुखुराको चल्ला तथा दाना वितरण गरेको हो ।
यस अघि अन्य वडाहरुमा दाना र चल्ला वितरण गरेको नगरले बुधबार वडा न १२, १३ र १४ का वडा कार्यालयबाट सिफारिस तथा छनोट भएका कृषकहरूलाई न्यु ह्य्म्प्सायर (New Hampshire) प्रजातिका कुखुराका चल्ला तथा दाना निःशुल्क रूपमा वितरण गरेको नगर प्रमुख तुलसी राम रेग्मीले जानकारी दिए । उनका अनुसार वितरण गरिएका चल्ला तथा दाना राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट खरिद गरिएका चल्ला कृषकहरूलाई प्रदान गरिएको हो ।

कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय तहमा आय–आर्जनका नयाँ अवसर सिर्जना गर्ने तथा किसानहरूको जीविकोपार्जनमा थप सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।


पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।