स्याङ्जामा घन्यो महिला समुहको पन्चेबाजा : महिला अधिकार र हिंसा अन्त्यको माग, महिला अधिकार र संस्कृति संरक्षणमा टेवा

News मनोरंजन समाचार समाज

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसरमा स्याङ्जाका महिलाहरुले गायन तथा पञ्चेबाजाको संगीत मार्फत् महिला अधिकार र आवाज प्रस्तुत गर्दै महिला हिंसा अन्त्य गर्नु पर्न कुराको सन्देश दिएका छन् । गण्डकी प्रदेश अन्तर्गतको एकिकृत सेवा कार्यालयको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न ठाउँबाट आएका आमा समूहले कलात्मक प्रस्तुती गरेका छन् । महिलाहरुले विभिन्न लय र रागमा पञ्चेबाजाको प्रस्तुती सँगै महिलाहरुले भोगेका हिंसाका घटना र नारी अधिकारका विषय समेटेर गीत समेत गाएका थिए । प्रतियोगितामा एकुबार आमा समूह भिरकोट नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ । राम्चेदेवी उद्यमशिल महिला समूह फेदीखोला गा.पा.ले द्धितीय स्थान हासिल गरेको छ भने, तृतीय र सान्तवना स्थान मातृभूमि आमा समूह पुतलीबजार नगरपालिका र विर्घा महिला पञ्चेबाजा समूह कालिगण्डकी गाउँपालिकाले हात पारेका छन् ।

प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्न सफल समूहले पुरस्कार रु १२ हजार, ८ हजार, ६ हजार, ४ हजार र प्रमाणपत्र पाएका छन् । कार्यक्रममा उत्कृष्ट सनाई र ढोलक बजाउने महिलालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै भिरकोट नगरपालिका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले मौलिक संस्कृति जगेर्नामात्रै नभएर महिलाहरु हरेक क्षेत्रमा सक्षम छन् भन्ने कुरा स्थापित भएको बताए ।

भिरकोट नगरपालिकाका निवर्तमान मेयर छायाराम खनालले लैड्गिक हिंसा कसैले सहन नहुने , हिंसा गर्न नहुने र भएमा प्रतिरोध गर्नु पर्ने बताए ।

भिरकोट नगरपालिका उपपप्रमुख भगवती रेग्मी अर्यालले महिलाहरु कुनै पनि हिंसा सहेर बस्न नहुने बताइन । उनले हाम्रो मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजाको प्रतिस्पर्धाले संस्कृतिको संरक्षण र सीप विकासमा टेवा पुग्ने बताइन ।

एकिकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा आयआर्जनमा टेवा पुग्ने र परम्परागत रुपमा बाजा बजाउने जाती र समुदायको पेशालाई सम्मान गर्दै उनीहरुलाई प्रोत्साहन र टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले लैङ्गकि हिंसा विरुद्ध प्रविधिको सदुपयोग गर्दै महिलाहरु पनि हरेक क्षेत्रमा सक्षम रहेको प्रमाणीत भएको जसको कारणले सामाजिक न्याय र समानतामा आधारित समाजको निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरक्षिक सागर कार्कीले प्रविधिको सदुपयोग र साइबर सुरक्षाबारे प्रशिक्षण दिए । राष्ट्रिय संगीत कर्मी संघ जिल्ला अध्यक्ष बुद्धिबहादूर परियार , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति स्याङ्जाकी उपाध्यक्ष एवम् लोक तथा दोहोरी गायिका तारा पौडेल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको स्याङ्जाको कोषाध्यक्ष रविना गुरुङको टिमले निर्णायक भूमिकामा थिए । राष्ट्रिय लोकदोहोरी गायक तथा सर्जक लोकनाथ सापकोटाले आफ्ना उत्कृष्ट गीतको प्रस्तुती गरेका थिए ।

सहभागीहरुले कार्यक्रमबाट आफूहरु महिला हिंसा विरुद्ध आफूहरु अब समाजमा निर्धक्क बोल्न सकेको र नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा यहाँ सिकेको सीप तथा अनुभव निखार्दै पञ्चेबाजा मार्फत् आयआर्जन तर्फबाट लाग्ने बताए ।

एकीकृत सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सञ्चारकर्मी विक्रम परियारले गरेका थिए । कार्यक्रममा करिब २ हजार जना भन्दा बढी आमा समूह सहित महिलाहरु, नागरिक समाज, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *