वालिङ नगरपालिकामा ‘एक स्वास्थ्य’ नीति लागू गरिने

आँधिखोला सेरोफेरो समाचार समाज स्वास्थ्य

वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य’ अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने भएको छ । मानव, पशु, वनस्पति, माटो तथा वातावरणीय स्वास्थ्यबिचको अन्तरसम्बन्धलाई समेट्दै नगरपालिकाले ‘एक स्वास्थ्य’ अभियान अघि बढाएको जनाएको छ ।

नगरप्रमुख कृष्ण खाँणले २० औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक स्वास्थ्य’ नीतिलाई अभियानका रूपमा अघि बढाइने उल्लेख गरिएको छ। नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि छलफल सुरु गर्नुका साथै ‘एक स्वास्थ्य’ नीतिको प्रारम्भिक मस्यौदा तयार गर्ने प्रक्रिया पनि अघि बढाएको छ। नगरप्रमुख खाँणले हालसम्म मानव स्वास्थ्यमा मात्र बढी ध्यान दिइँदा पशु, वनस्पति, माटो र वातावरणीय स्वास्थ्य ओझेलमा परेको बताए । उनका अनुसार जुनोटिक (पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने) रोग, महामारीजन्य रोग तथा अन्य स्वास्थ्य जोखिमको रोकथाम, पहिचान, निगरानी र नियन्त्रणका लागि नगरपालिकाले नीति तयार गरिरहेको छ।

खाद्य सुरक्षा, जैविक सुरक्षा तथा वातावरणीय स्वास्थ्य प्रवद्र्धनका लागि पनि पालिका सक्रिय रहेको उनले बताए । नगरउपप्रमुख कविता तिवारी गैह्रेले ‘एक स्वास्थ्य’ नीतिले मानव, पशु, वनस्पति र वातावरणीय स्वास्थ्यबीच समन्वय र सहकार्य बढाउँदै त्यसअनुसार योजना निर्माण गरिने जानकारी दिईन् । उनका अनुसार नीति कार्यान्वयनमा आएपछि माटो तथा वनस्पति स्वास्थ्य संरक्षण, सुरक्षित कृषि प्रणालीको प्रवद्र्धन तथा रासायनिक विषादी र कृषि रसायनको सुरक्षित एवं विवेकपूर्ण प्रयोगमा सहयोग पुग्नेछ।

नीतिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै डा. राजेन्द्र ढकालले जुनोटिक रोग अर्थात् मानिस र पशुपन्छीबिच एकअर्कामा सर्ने रोगप्रति पर्याप्त ध्यान नपुगेको बताए । ‘एक स्वास्थ्य’ अवधारणाको संस्थागत विकास र प्रभावकारी कार्यान्वयनमा स्थानीय तहहरूले विशेष जोड दिनुपर्ने उनको भनाइ थियो। हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले वालिङ नगरपालिकालाई ‘एक स्वास्थ्य’ नीति निर्माण तथा कार्यान्वयनमा प्राविधिक सहजीकरण गर्दै आएको जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *