नेपाली कांग्रेस स्याङ्जाले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वटै वडाहरुमा एक जना संयोजकसहित ५–५ जना प्रतिनिधि खटाएको हो ।
अब उक्त संयोजकहरु सहितको टोलीले वडा वडामा गएर वडा टोल गठन गर्ने, विगतका सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने, एमसिसीका बारेमा जनतामा रहेको भ्रम चिर्ने र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने जिल्ला सभापति राजु थापाले जानकारी दिए । यसका साथै स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्नका लागि लक्षित कार्यक्रमहरु समेत सञ्चालन गर्ने थापाले जानकारी दिए ।
यसरी खटाईएको टोलीमा जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधि, भ्रातृ संस्थाका नेता तथा जिल्लामा सक्रिय नेताहरु समेटिएका छन् ।
वडा–वडामा खटाइएका ९७ वडा संयोजकहरूलाई केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले पुतलीबजार स्थित कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा अभिमुखीकरण तालिम समेत दिएका थिए । वडा तहमा खटिएका प्रतिनिधिहरूलाई टिकट वितरण बाहेक सम्पूर्ण अधिकार दिइएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।