



जिल्ला कृषि गणना कार्यालय स्याङजा पुतलीबजारको आयोजनामा राष्ट्रिय कृषि गणना २०७८ जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको छ । कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार भन्ने मुल नाराको साथ जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय कृषि गणना २०७८ जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला कृषि गणना कार्यालय स्याङजाकी प्रमुख शारदा शर्माले कृषि गणनाको औचित्य माथी प्रकाश पारेकी थिईन् । जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठीमा उनले कृषि गणना गर्नुपर्ने कारण, कर्मचारी व्यवस्थापन, आर्थीक व्यवस्थापन र आगामी कार्यक्रमहरुका विषयमा प्रष्ट पारेकी थिईन् ।

प्रस्तुत कार्यपत्र माथी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजिव बहादुर बस्नेत, जिल्ला समन्वय अधिकारी ऋषीराम आचार्य, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, नागरीक समाजका अध्यक्ष ओमप्रकाश शर्मा र जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रष्ठ लगाएतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै जिल्ला कृषि गणना कार्यालय स्याङजाकी प्रमुख शर्माले कृषि गणना पश्चात कृषिका क्षेत्रमा काम गर्न सहज हुने बताईन् । प्रमुख जिल्ला अधिकारी राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथ्याङ्क अधिकृत राजेन्द्र पराजुलीले गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
