



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले आसन्न निर्वाचनमा स्थानीय परिस्थितिका आधारमा दलहरुबीच गठबन्धन हुने बताएका छन् । ‘घर घर जाऔं काँग्रेस जिताऔं’ एकमहिने अभियानकाबारेमा जानकारी दिन स्याङ्जाको पर्यटकीय गाउँ सिरुबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारे ।
नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले नेपाली काँग्रेस गठबन्धनको पक्षमा रहेको तर त्यसको निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै भएको बताए । जब जब देशमा सङ्कट आईपर्छ तब तब नेपाली काँग्रेसको नेतृत्वमा निकास दिने काम भईरहेको उनले दाबी गरे । एमसिसी सम्झौताका विषयमा छरिएको भ्रमबाट टाढा रहन र उक्त सम्झौता नेपालकालागि आवश्यक र महत्वपूर्ण रहेको उनले बताए ।

बैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्याङ्जाका एघार वटै स्थानीय तहमा भेला तथा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरिएको नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध भएका दलहरुबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको सभापति थापाले बताए ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
