यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनय दर्ताको मिति बैशाख ११ र १२ नजिकिदै छ । स्याङजामा क्रियाशिल राजनैतिक दल नेकपा एमाले र नेपाली कांग्रेस यतीबेला उमेद्वार छनौटको अन्तिम तयारीमा रहेका छन् ।
९७ वडा रहेको स्याङजामा नेपाली कांग्रेसलाई गठबन्धनका कारण उमेद्वार छनौटमा फलामे चिउरा बनेको छ । स्याङजा कांग्रेसलाई उमेद्वार छनौटमा एकदम सकस भएको नेपाली कांग्रेस स्याङजाका प्रवक्ता तथा पुतलीबजार नगरपालिकाका मेयर पदका आकांक्षी उमेद्वार भरत लम्सालले जानकारी दिए । प्रवक्त लम्सालले गठबन्धनको मोडल र पार्टीकै नेताहरुको धेरै आग्रहले सकस भएको बताए ।
एमालेमा वडा अध्यक्ष र सदस्यहरुका उमेद्वारहरुको जिल्लाले, पालिका प्रमुख र उपप्रमुखको टुंगो प्रदेश समितिले लगाउने छ भने कांग्रेसमा वडा अध्यक्ष र सदस्यहरु उमेद्वारहरुको क्षेत्रले, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जिल्लाले र मेयर र उपमेयरको टुंगो प्रदेशले लगाउने छ ।
केही पालिकामा उमेद्वार छनौट गर्न एमालेलाई समस्या भए पनि जिल्ला कमिटिमा आएका उमेद्वारहरुको नाम प्रदेश कमिटिमा पठाई सकेको एमाले स्याङजाकी उपसचिव तारा शर्माले जानकारी दिईन् । उनले टिकट जस्ले पाएपनि जिल्लालाई एमालेमय बनाउन सबै नेतृत्व आफ्नो ठाउबाट लाग्ने निर्णय भएको बताईन् ।
एमाले स्याङजाले उमेद्वारको वालिङ नगरपालिका, आँधिखोला र हरिनास गाउँपालिकामा भने सर्वसम्मत गरि टुंगो लगाएको छ । एमालेले वालिङमा कृष्ण खाणँ, आँधिखोलामा विश्व पौडेल र हरिनासमा खिमनारायण मानन्धरलाई उमेद्वार बनाउने निर्णय गरेको छ । कांग्रेसले पनि प्रमुख उपप्रमुख पदका उमेदवार छनौटका लागि प्रदेशमा नाम पठाएको छ ।
गठबन्धनमा नेपाली कांग्रेस सग माओवादीले र एकिकृत समाजवादीले केही पालीकामा प्रमुख र उपप्रमुख माग गरेको नेपाली कांग्रेस स्याङजाले जनाएको छ । गठबन्धनले वडा तह सम्म मिलेर जाने समेत बताएको छ । एमाले र कांग्रेसले सम्पर्क कार्यालयहरु स्थापना गरि भोट माग्न समेत सुरु गरिसकेका छन् ।
११ पालिका रहेको स्याङजामा २०७४ को स्थानीय तहको निर्वाचनमा ७ पालिकामा एमालेले र ४ पालिकामा कांग्रेसले हात पारेका थिए । चर्चामा रहेको पुतलीबजारमा सिमा कुमारी क्षेत्रीले १२ सय २० मत वढी प्राप्त गरेकी थिईन् भने उपप्रमुखमा महेश पुरीले १९ सय ४४ वढी मत प्राप्त गरी विजयी भएका थिए । पुतलीबजार नगरपालिकाका नेकपा एमालेको गडको रुपमा चिनिदै आएको छ ।
यस पटकको निर्वाचनमा पनि स्याङजा जिल्ला एमालेमय बन्ने धेरैको अनुमान रहेको छ । गठबन्धको उमेद्वार छनौटमा समस्याहरु देखिएको, कांग्रेस (गठबन्ध)का केही उमेद्वार अलोकप्रिय तथा पाहुना उमेद्वार भएकाले उनीहरु पराजित हुने र एमाले विजयी हुने स्थानीयहरुको विश्लेषण रहेको छ । जस्ले जे भने पनि पालिका कस्को पोल्टोमा पर्छ परिणाम कुर्नै पर्ने हुन्छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।