

स्याङ्जाको भिरकोट नगरपालिका ७ मा रहेको महेन्द्र ज्योती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना तथा भिरकोट नगरपालिकाको समन्वयमा बुधबार सो विद्यालयमा अध्ययनरत ९३ जना विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको हो ।
भिरकोट नगरपालिका वडा न ७ को अनुरोध अनुसार विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएको र सोहि अनुसार आवश्यक महसुस गरि विद्यालयमा न्यानो पोशाक वितरण गरेको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए । उनका अनुसार फाउन्डेसनले मासिक नियमित कार्यक्रम अन्तर्गत यो कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले शिक्षा र स्वास्थ्यमा विभिन्न कार्यक्रमहरु गरिरहेको फाउन्डेसनले भिरकोट ७ को यो विद्यालयलाई छनौट गरि न्यानो पोशाक वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । उनले सभ्य नागरिकको पहिलो पहिचान नै असल शिक्षा भएकाले शिक्षामा राज्यले गरेको लगानीलाई आत्मसाथ गर्दै गुणस्तरीय शिक्षाका लागि सर्वपक्षीय कोणबाट लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्यालले मानविय र सामाजिक कार्यमा फाउन्डेसनको सक्रियता र स्पृट प्रसंशनिय रहेको बताइन । कार्यक्रममा बोल्दै खुमा अर्याल फाउन्डेसनका संस्थापक एवम् वरिष्ठ उद्यमि खुमा प्रसाद अर्यालले सबैको साथ र सहयोग र समन्वयले सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलिरहेको बताए । कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक दिपक रोका लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
फाउन्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका नवनियुक्त प्रधानाध्यापक उदय शर्मा लामिछानेले स्वागत, वडा अध्यक्ष तारा अर्यालले धन्यवाद ज्ञापन एवम् सचिव ध्रुव शर्माले कार्यक्रम सन्चालन गरेका थिए ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।