स्याङ्जा जिल्लामै पहिलो पटक (डिप्लोमा ईन जनरल मेडिसिन) एच ए को पढाई शुरु हुने भएको छ । वालिङमा रहेको पायोनियर्स हायर एजुकेशन एकेडेमी पाईनिअजमा चिकित्सा शिक्षा अन्तर्गत डिप्लोमा ईन जनरल मेडिसिन एच एको पढाई हुन लागेको हो ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिईभिटीले सम्वन्धन पाएको पायोनियर्सले बिगत २८ वर्ष देखि प्राविधिक शिक्षाका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । लामो समयको प्रतिक्षा पछि आफ्नै घर आँगनमा डिप्लोमा तहमा चिकित्सा विषय अध्ययन गर्न पाउनु नै शिक्षा क्षेत्रमा ठूलो उपलब्धी भएको विद्यालयका प्रिन्सिपल मेघराज गैह्रेले जानकारी दिए ।
विगत लामो समय देखि एचए पठनपाठनका लागि तयारी शुरु गरेको विद्यालयले आवश्यक पूर्वाधार समेत तयार पारिसकेको गैह्रेको भनाई छ । स्वास्थ्य तथा कृषि अन्तर्गत पशुपालन क्षेत्रमा उल्लेख्य संख्यामा मध्यमस्तरिय प्राविधिक जनशक्ति उत्पादन गर्दै आईरहेको विद्यालयमा सञ्चालन भएको सिटिईभिटी कार्यक्रमका प्रमुख हिमनिधि पंगेनीले जानकारी दिए ।
दुवै प्राविधिक कार्यक्रमहरू उपयोगी आकर्षक र रोजगारमुलक रहेको उनको भनाई छ । आगामी शैक्षिकसत्रका लागि भर्ना आव्हान गरिसकिएको जानकारी दिदै पंगेनीले एसईई वा एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुले यो अवसर लिन सक्ने बताए । जिल्लाको मध्य भाग तथा पर्वत, पाल्पा, गुल्मी लगायतका जिल्लाका विद्यार्थीलाई समेत पायक पर्ने भन्दै पंगेनीले चार जना विद्यार्थीहरुलाई पूर्ण रुपमा छात्रबृत्तिको व्यवस्था रहेको जानकारी दिए ।
तीन बर्षे अवधीको एच ए अध्ययन पुरा गरे पश्चात सरकारी तथा गैह्र सरकारी क्षेत्रमा सहजै काम गर्ने अवसर मिल्ने सिटिईभिटी कार्यक्रम प्रमुख पंगेनीको भनाई छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।